आइतवारदेखि धितोपत्र कारोबारमा १७ परिसूचक

काठमाडाैं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आइतवारदेखिको कारोबारमा १७ ओटा परिसूचक गणना गर्ने भएको छ। हाल १६ ओटा परिसूचक गणना गर्दै आएको नेप्सेले समूहगत परिसूचकमा लगानी समूह थप गर्न लागेको हो।

नेप्सेका अनुसार हाल सूचीकृत २१८ कम्पनीहरुलाई ११ समूहमा विभाजन गरी समूहगत परिसूचक गणना गर्दै आएकोमा आइतवारदेखि लगानी समूह थप गरी १२ समूहगत परिसूचक गणना गरिने भएको छ। यसअघि म्यचुअल फण्डलाई पनि समूहगत परिसूचकमै गणना गरिदै आइएको थियो।

२१८ ओटा कम्पनी बाहेकको म्यचुअल फण्डलाई समूहगत परिसूचकमै राखेपनि सूचीकृत कम्पनीहरुको समूहगत परिसूचकका रुपमा ११ ओटा समूहलाई मात्र गणना गरिने नेप्सेले जानकारी दिएको छ।

आइतवारदेखि समूहगत १२ परिसूचकसँगै म्युचुअल फण्ड, नेप्से परिसूचक, नेप्से फ्लोट, सेन्सेटिभ इन्डेक्स र सेन्सेटिफ फ्लोट गरी १७ परिसूचक गणना गर्न लागिएको नेप्सेका प्रबक्ता मुराहरी पराजुलीले जानकारी दिएका छन्।

उनले हाल अन्य समूहमा रहेका आठ कम्पनीहरुमध्य चार कम्पनीलाई नयाँ थपिएको लगानी समूहमा राखी कारोबार गरिने समेत जानकारी दिए। त्यस्तै साविकको होटल्स समूहको नाम परिवर्तन गरी होटल्स तथा पर्यटन समूह बनाईएको पनि प्रबक्ता पराजुलीले प्रष्ट पारे।

यो समूहमा चन्द्रागिरी हिल्सलाई समावेश गरिएको पनि उनको भनाइ छ। हाल चन्द्रागिरी हिल्स अन्य समूहमा सूचीकृत रहेको छ।