झापामा पहिलो रबर उद्योग सञ्चालनको तयारी

झापा। नेपालमा रबर खेती शुरु भएको ३० वर्षपछि झापामा रबर उद्योग स्थापना भएको छ। कनकाई नगरपालिका–७ मा रु २० करोडको लगानीमा स्थापित कनकाई रबर इन्डस्ट्रिज सञ्चालनको अन्तिम तयारीमा छ।

विसं २०४६ मा गोरखामा गोरखकाली रबर उद्योग स्थापना भएसँगै झापाको शनिश्चरेमा पहिलोपल्ट परीक्षणको रुपमा रबरको बिरुवा रोपिएको थियो। शनिश्चरेका जयप्रसाद ढकाल र उहाँको परिवारले पाँच हेक्टर जग्गामा पहिलोपल्ट रबर खेती गरेका थिए।

हाल झापा, मोरङ र सुनसरीमा करीव ७०० हेक्टरमा रबरको खेती भइरहेको छ। रबरको खेती फस्टाउँदै गएपछि स्वदेशमै उद्योग सञ्चालनको आवश्यकता महसुस गरी काठमाडौँ र झापाका लगानीकर्ताले साझेदारीमा कनकाई रबर इन्डस्ट्रिज स्थापना गरेका हुन्।

डेढ बिघा जग्गामा फैलिएको रबर उद्योगले यसै वर्षदेखि किसानले उत्पादन गरेको रबरको चोप खरिद गर्ने जनाएको छ। उद्योगले प्रतिघण्टा एक हजार लिटर रबरको चोप प्रशोधन गर्ने भएको छ।

किसानबाट खरिद गरेको रबरको चोपलाई आधुनिक मेसिनमा प्रशोधन गरी पहिलो चरणमा जुत्ता चप्पलमा प्रयोग हुने सुलेसन (टाँस्ने पदार्थ) र रबर सोल उत्पादन गरिने सञ्चालक बालकृष्ण सापकोटाले बताए।

नेपालमा सयौँको सङ्ख्यामा रहेका जुत्ता चप्पल उद्योगले यहाँबाट उत्पादित सुलेसन र सोल प्रयोगमा ल्याउने सञ्चालकको अपेक्षा छ। हालसम्म ती उद्योगले यस्तो पदार्थ भारतको केरला, भियतनाम र थाइल्यान्डबाट आयात गर्दै आएका थिए।

दुई महिनापछि सुलेसन र सोल उत्पादन थालिने सञ्चालक सापकोटाको भनाइ छ । त्यसपछि दोस्रो चरणमा मेडिकल क्षेत्रमा प्रयोग हुने ग्लोब र घरायसी प्रयोगमा आउने म्याट उत्पादन गर्ने उद्योगको लक्ष्य रहेको उनले बताए।

विश्वमा रबर दुई किसिमले उत्पादन हुन्छ। पेट्रोलियम खनिज पदार्थलाई प्रशोधन गरेर र रबरको बिरुवा रोपेर रबर उत्पादन हुँदै आएको छ।

बिरुवा रोपेर उत्पादन हुने रबर प्राकृतिक हुने भएको हुँदा यसको विश्वभरि उच्च माग छ। यातायातका साधन साइकलदेखि हवाइजहाजको टायर र ट्युब बनाउन पनि रबरको आवश्यकता पर्दछ।

नेपालले बर्सेनि अर्बौंको रबर आयात गर्दै आएको छ। तर रबर खेती र यसमा आधारित उद्योग खुल्दै जाने हो भने ठूलो मात्रामा आयात प्रतिस्थापित हुने सम्भावना रहेको छ । गर्मी क्षेत्रमा रबरको बोट हुर्किन्छ।

यसको फेदबाट दूधजस्तो चोप निकालेर सङ्कलन गरिने र सङ्कलित चोपलाई प्रशोधन गर्दा प्राकृतिक रबर उत्पादन हुने गर्दछ।