आलोपालो भनेको एक दिन पनि मान्नु भएनः प्रचण्ड

काठमाडौं। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले जनताको बहुदलीय जनवाद र एमाले विघटन गर्ने कार्यमा पहिलो हस्ताक्षर प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको बताएका छन्। पार्टी एकता गर्दा ओलीले एमाले विघटन गर्ने हस्ताक्षर गरेको भन्दै उनले आफू र माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद अहिलेसम्म लिएर हिँडेको दाबी गरे।
उनले ओली कम्युनिष्ट आन्दोलन सक्नेतर्फ लागेको आरोप लगाए। उनले पार्टी एकता गर्दा ओली आफूलाई ुकम्युनिष्ट आन्दोलन सम्हाल्ने अरु नेता नभएर तपाईंलाई ल्याएको होु भनेको स्मरण गरे।

उनले भने, ‘यो पत्याउने कुरा त थिएन। तर, उनी पदमा पुग्न जे पनि भन्ने रहेछन् भन्ने देखियो’,। ओलीले माधवकुमार नेपाललाई चार जिल्लामा सीमित गर्ने योजना बनाएको तर, आफूले त्यसो हुन नदिएको दाहालको दाबी छ। ‘माधवसहित सबैलाई निमोठेर सक्ने र अनि प्रचण्डलाई सक्ने रणनीति ओलीको थियो’, दाहालले भने, ‘एकता भएको तीन महिनामै मैले यो कुरा बुझेको थिएँ। तत्कालै झगडा गर्न पनि भएन। आलोपालो भनेको एक दिनपनि मान्नु भएन। तर पनि म चुप लागेर बसेँ।’