म अन्यायमा परेँ, न्यायको झण्डा बोकिदिनूस्ः प्रचण्ड

काठमाडौं। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि प्रधानमन्त्री केपी ओलीको प्रहार धेरै भएपछि पार्टी एकतामा संकट पैदा भएको जानकारी दिएका छन्।

जाउलाखेलमा शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले आफू अन्यायमा परेको बताएका हन्।  न्याय र सत्यका पक्षमा बोलिदिन पनि प्रचण्डले शिक्षकहरुलाई आग्रह गरेका छन्। उनले भने, ‘प्रधानमन्त्री ओलीले म माथिको प्रहार तीव्र पार्नुभयो। त्यसैले पार्टी एकतामा संकट पैदा भयो। अब तपाईंहरुले सत्य र न्यायको झण्डा बोकिदिनु र्पयो।’

ओलीसँग बेइमानी छलकपट बाहेकको कुनै क्षमता नभएको टिप्पणी प्रचण्डले गरे। जेलमा बस्दा पनि ओलीले चाणक्य नीतिबाहेक केही नपढेको आरोप लगाए। उनी अहिले राजनीतिमा शकुनी पात्रको रुपमा देखिएको प्रचण्डको भनाइ छ।

शिक्षकलाई संगठित हुनबाट ओलीले रोकेको आरोप लगाउँदै प्रचण्डले पार्टी एकता नभए पनि शिक्षक संगठन एकता नहुनुको दोषी ओली भएको बताए।