बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै हो: माधवकुमार

काठमाडौं। नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै भएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित नेकपा प्रचण्ड–माधव पक्ष निकट शिक्षकहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अहिले पनि वामदेव गौतमले केपी ओलीलाई सुधार्ने कोसिस गरिरहेको जानकारी दिए।

कुनैबेला स्थायी कमिटी बैठकमा ४० मिनेट बोलेर केपी ओलीको राजीनामा सबभन्दा पहिला गौतमले नै मागेको उल्लेख गर्दै अहिले फेरि ओलीलाई सुधार्न उनले नै कोसिस गरिरहे पनि आफूले बालुवा पेलेर तेल निस्किँदैन तर पनि कोसिस गर्नुस् भनेको जनाए।

उनले भने, ‘दुई तिहाइको संख्यामा भएको ठाउँमा उहाँले तुरुन्तै भङ्ग गरिदिनुभयो। किन भङ्ग गरिदिनुभयो भने मलाई प्रधानमन्त्रीबाट हटाउने भए भनेर। यो प्रधानमन्त्री हटाउने को हो थाहा छ? वामदेव गौतम हो। फेरि उहाँ (प्रचण्ड)लाई दोष जान्छ सबैभन्दा बढी होइन, साँचो कुरा म तपाईंहरूलाई बताउँछु। यो पहिलो प्रस्ताव राख्ने केपी ओली मान्छे खराब मान्छे हुन् भनेर स्थायी कमिटीको बैठकमा भाषण गर्नुभएको छ वामदेवले। ४० मिनेट भाषण गर्नुभयो केपी ओली जस्तो रद्दी मान्छे धर्तीमा कोही पनि छैन भनेर। अब अहिले पनि उहाँ फेरि कोसिस गर्दै हुनुहुन्छ केपीलाई सुधार्न। अब उहाँ गर्नुहोस् मैले भनेको छु यो बालुवा पेलेर तेल निस्किँदैन कोसिस गर्नुहोस्।’

अध्यक्ष नेपालले अब केपी ओलीसँग एकताको कुनै सम्भावना नभएको पनि स्पष्ट पारे। बरु ओली प्रवृत्तिको विरूद्धको आन्दोलनमा सहभागी भएकाहरूबीच सहकार्य गरेर अगाडि बढ्ने बताए। उनले भने, ‘केपी ओलीसँगको एकताको कुनै सम्भावना छैन। कुनै भ्रममा नपर्नुस्। केपी ओलीका मानिसहरूको आँखामा बाम लगाएर निकालेको आँसुको कुनै अर्थ छैन। ख्याल गर्नुहोला। बाम लगाएर आँसु निकाल्छन् र भित्र कोठामा गएर मुसुमुसु हाँस्छन् यिनलाई मूर्ख बनाएर पठाइयो भन्छन्। त्यसो भएकोले तपाईंहरू यस्ता कुराको भ्रममा नपर्नुस्। अब हामी के गरिरहेका छौं भन्दा सबै जो आन्दोलनमा सहभागी भएकाहरूलाई साथमा लिएर बरू जाऔं संयुक्त सरकार बनाऔं भनिरहेका छौं।’ अहिले प्रतिनिधि सभा पुनस्स्थापना भए पनि पूरै लडाइँ जित्न बाँकी रहेको पनि अध्यक्ष नेपालले बताए।