नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय गणित सम्मेलन हुँदै

काठमाडौं। नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय गणित सम्मेलन हुने भएको छ। नेपाल गणित समाजको आयोजनामा आगामी चैत २७ गतेदेखि २९ गतेसम्म सम्मेलन हुन लागेको जनाइएको छ।

नेपालबाट त्रिभुवन, काठमाडौं तथा नेपाल संस्कृत र भारतमा केन्द्रीय कार्यालय रहेको दक्षिण एसियाली विश्वविद्यालय सम्मेलनको सह आयोजक रहेको शनिबार आयोजित पत्रकार सम्मेलनमा समाजले जनाएको छ। गणित विधामा विश्वव्यापि रुपमा भइरहेको अध्ययन तथा अनुसन्धानका बारेमा नेपाली गणितज्ञलाई परिचित गराउने अपेक्षा गरिएको समाजका अध्यक्ष प्राध्यापक डा. चेतराज भट्टले बताए। उनका अनुसार मुलुकमा गणित विषयमा देखिएका समस्या तथा समाधानका लागि उचित निकासका विषयमा पनि छलफल हुनेछ।

भारत, अमेरिका, वंगलादेश लगायत विश्वका करिव दुई दर्जन मुलुकका गणितज्ञको उपस्थिती हुनेछ। गणित शास्त्रका २३ विधाका कार्यपत्र प्रस्तुत हुनेछन्। सम्मेलनबाट नेपाली गणितज्ञले अन्तर्राष्ट्रिय विज्ञबाट गणितका विवित्र विषयबारे जानकारी लिन सक्नेछ।