पीएसजीको सानदार जित

एजेन्सी। फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले डिजोनमाथि ४–० को सानदार जित निकालेको छ। फ्रेन्च युवा फरवार्ड केलियन एमबाप्पेको दुई गोल सहयोगमा उसले जित निकालेको हो।

पीएसजीले डिजोनलाई उसकै मैदानमा हराउदा मोइस किन र डानिलो र पेरेइराले पनि गोल गरे। शनिबार राति भएको खेलको छैटौ मिनेटमा मोइस किनको गोलबाट पीएसजीले अग्रता लिएको थियो।

उनले एब्डोय डियालोको पासमा गोल गरेका थिए। ३२औं मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गरेपछि पीएसजीले पहिलो हाफमा २–० को अग्रता लिएको थियो।

५१औं मिनेटमा राफिन्हाको पासमा एमबाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि पीएसजी सहज जिततर्फ अग्रसर बन्यो। ८२औं मिनेटमा जुलियन ड्राक्सलरको पासमा डानिलो पेरेइराको गोल गर्दै पीएसजीलाई सानदार जित दिलाए।

यो जितसँगै दोस्रो स्थानमा उक्लिएको पीएसजीको २७ खेलबाट ५७ अंक पुगेको छ। एक खेल कम खेलेको शीर्षस्थानको लिलको ५८ तथा तेस्रो स्थानको लियोनको ५५ अंक छ। पराजित डिजोन १५ अंक जोडेर पुछारमा छ।