जोन्सन एण्ड जोन्सनको कोरोना खोपलाई अमेरिकामा स्वीकृति

काठमाडौं। औषधि उत्पादन क्षेत्रको ‘जाइन्ट जोन्सन एण्ड जोन्सन’को स्वामित्व रहेको बेल्जियमको कम्पनी ज्यानसेनले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपले अमेरिकामा स्वीकृति पाएको छ।

अमेरिकी नियामक निकाय युएस फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले यो खोपलाई शनिबार सर्वासाधारणको प्रयोगका लागि स्वीकृति दिएको हो। यो खोप एक डोज मात्रै लगाए पुग्ने छ।

गएको जनवरीमा यो खोपको परीक्षण गरिएको थियो। खोपको प्रभावकारिता परीक्षणमा ६६ प्रतिशत देखिएको कम्पनीको दावी छ।

योसँगै अमेरिकामा कोरोना भाइरसविरुद्धका तीन खोपले स्वीकृति पाएका छन्।

यसअघि फाइजर र मोदेर्नाको खोपले अमेरिकामा स्वीकृति पाएका थिए।