औद्योगिक पार्क शिलान्यासका लागि प्रधानमन्त्री ओली झापा जाँदै

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आईतबार झापा जाने भएका छन्।

झापाको कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिने ‘चीन नेपाल मैत्री औद्योगिक पार्क’ शिलान्यासका लागि प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन्।

उक्त पार्क चिनियाँ लगानीमा बन्न लागेको हो। सार्वजनिक निजी साझेदारी अन्तर्गत तयार हुन लागेको पार्कमा ६४ अर्ब लगानी रहेको छ। आजको कार्यक्रम कमल गाउँपालिकाको झर्काहामा हुन लागेको आयोजकले जनाएको छ।

कार्यक्रममा विभिन्न कलाकारहरुको प्रस्तुतिसमेत रहेको छ। प्रमोद खरेल, बद्री पंगेनी, प्रकाश सपुतलगायतका कलाकार कार्यक्रमका लागि पुग्नेछन्।