अम्बानीको घरअगाडि विस्फोटक पदार्थ राखेको आतङ्कवादी संगठनको स्विकारोक्ति

काठमाडौं। भारतका ठूला उद्योगपति मुकेश अम्बानीको घरअगाडि हालै फेला परेका परिवारै मार्ने धम्की दिइएको पत्र र विस्फोटक पदार्थ आफूले राखेको एक आतंकवादी संगठनले स्विकारेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार आइतबार टेलिग्राफ एपको माध्यमार्फत जैस उल हिन्द नामक संगठनले घटनाको जिम्मा लिएको हो।

यसअघि इजरायली दूतावासबाहिर भएको विस्फोटको जिम्मेवारी पनि सोही संगठनले लिएको थियो।

अनुसन्धान एजेन्सीलाई चुनौती दिँदै आतंकवादी संगठन जैस उल हिन्दले भनेको छ: ‘रोक्न सक्छौ भने रोक, तिमीले केही गर्न सक्दैनौ। हामीले तिम्रो नाकैमुनि दिल्ली (इजरायली दूतावास) मा हमला गर्दा तिमीले केही गर्न सकेनौ।’

पत्रको अन्तिममा अम्बानीलाई चेतावनी दिइएको छ: ‘तिमीलाई थाहा छ कि तिमीले के गर्नुपर्छ। बस्, पैसा पठाइदेऊ, जुन तिमीले पहिले गरेका थियौ।’