भागरथी भट्ट हत्या प्रकरणः दिनेशको डिएनए काठमाडौं पठाइयो

कैलाली। बैतडीकी १७ वर्षीया किशोरीको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका दिनेश भट्टको डीएनए काठमाडौं पठाइएको छ। डीएनए परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार परीक्षणका लागि रगत लगायत आवश्यक वस्तु काठमाडौँ पठाइएको हो।

केही दिनमा परीक्षण रिपोर्ट आउने र त्यसपछि अनुसन्धानमा थप सहयोग पुग्ने जनाइएको छ। प्रहरीले प्रारम्भिक बयानमा दिनेशले बलात्कार गरेको स्वीकार गरिसकेको बताएको छ। यसअघि भागरथीको भेजाइनल स्वाब पनि प्रयोगशाला पठाइए पनि परीक्षण रिपोर्ट भने अझै आएको छैन। गत माघ २१ गते विद्यालय गएकी भागरथी साँझ घर नपुगेपछि आफन्तले खोजी गरेका थिए। खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लवलेक जंगलमा उनको शव फेला परेका थियो।