जेलमा बस्दा मैले पोखराको नक्सा बनाएको थिएँ, नक्सा देखेर जेलर अचम्मः ओली

पोखरा। प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा आफू पोखरामा डेरा गरेर बसेको र यस क्षेत्रको बारेमा सम्पुर्ण जानकारी रहेको बताए।

सोमबार पोखरामा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको शिलान्यासपछि उनले यस्तो बताएका हुन्। झापा विद्रोहपछिको १४ वर्षे जेल जीवनको क्रममा उनी तीन वर्ष पोखरा र एक वर्ष स्याङ्जा कारागारमा रहेका थिए। उनले भने, “मेरो ठेगाना रत्ननगर, पार्दी थियो। म तीन वर्ष यहाँ बसेको हुँ। पोखरा, गण्डकीको बारेमा कसरी थाहा भयो भन्नुहोला। म यहीँ डेरा गरेर बस्थेँ,’।

जेलमा बस्दा आफूले पोखराको नक्सा बनाएको उनले सुनाए। “मैले नक्सा पनि बनाएको थिएँ। नक्सा देखेर जेलरले अचम्म मान्दै कसरी सही नक्सा बनाउनुभयो भनेर सोधेका थिए,’’ उनले भने, “म अध्ययनशील मान्छे हो।’’