नेकपा प्रयोग गर्ने कुनै अधिकार छैन, केपी ओली फाउन्डेसन खोल्नुस्ः माधव नेपाल

काठमाडौं। नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई ‘फाउन्डेसन’ खोल्न सुझाव दिएका छन्। पेसागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघबीच एकता सभालाई कार्की ब्याङ्क्वेटमा सम्बोधन गर्दै उनले ओलीलाई नाम र चिह्न प्रयोग गर्ने कुनै अधिकार नरहेको जानकारी दिएका छन्।

ओली कारबाहीमा परिसकेको र त्यसको जानकारी निर्वाचन आयोगले पाइसकेकाले उनका गतिविधि अवैध रहेको नेपालले बताए। हामीले केपी ओलीलाई हटाएका छौं । तर उनी नेकपाको अध्यक्ष भनेर भाषण गरेर नेकपाको नाम, उही चिह्न उही झन्डा प्रयोग गरेर हिँडिरहेका छन्। अरू पार्टीलाई पनि एउटै पार्टीको हो कि भन्ने भ्रममा पारेका छन्। निर्वाचन आयोगमा हामीले केपी ओली अब अध्यक्ष नरहेको जानकारी गराइसकेका छौँ। केपी ओली विधानभन्दा माथि हुन सक्छन् ? कमिटीलाई हटाउने अधिकार हुन्छ। नेकपाको नाम प्रयोग गर्ने अधिकार केपी ओली र उनका नजिककालाई छैन।”

‘केपी ओली फाउन्डेसन खोले’ राम्रो हुने भन्दै नेता नेपालले निर्वाचन आयोगले कानुनसम्मत आधिकारिकता विवाद निरूपण गरिदिने बताए। “यो पार्टी नै आधिकारिक भन्नेमा द्विविधा छैन । सूर्य चिह्न हामी जहाँ छौँ, त्यहीँ छ,” उनले भने।