नेकपा र सूर्य चिन्ह हाम्रै होः प्रचण्ड

काठमाडौं। नेकपा प्रचण्ड–माधव समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै निर्वाचन आयोगले नेकपाबारे निर्णय गर्ने बताएका छन्। उनले निर्वाचन आयोगले केही दिनभित्रै गर्ने उक्त निर्णय आफ्नो पक्षमा आउने समेत जनाएका छन्।

सोमबार नेकपा निकट पेसागत महासंघ र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वको नेकपालाई नै वैधानिकता र सूर्य चिन्ह पनि आफैले पाउने बताएका हुन्। उनले सर्वोच्चको फैसलापछि केपी शर्मा ओली प्रधानमन्त्रीको कुर्सीमा एकछिन पनि बस्न लायक नभएको भन्दै ओली पतन नहुँदासम्म केही नछोड्ने पात्रका रुपमा देखिएको बताए।

‘सत्ताप्राप्ति र कुर्सी प्राप्तिका लागि ओली जे पनि सम्झौता गर्दिने तर सत्ता प्राप्तिपछि सवै कुरा छोड्ने प्रवृतिको मान्छे हुनुहुँदोरहेछ। सत्ता प्राप्तिका लागि पहिला एमाले विघटन र जबज त्याग्ने पनि केपी ओली नै हो’, प्रचण्डले भने,‘यसले उहाँमा इमान्दारीता र निष्ठा रहेन। उहाँले पार्टीका स्थायी समिति र केन्द्रीय कमिटीका निर्णयलाई पनि लत्याउनुभयो’प्रचण्डको भनाइ छ।