सहिद स्मारक बी डिभिजन लिगः आरसिटीको साँघुरो जीत

काठमाडौं। सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत रानीपोखरी कर्नर टिम आरसिटीले साँघुरो जीत हाल पारेको छ। आज भएको खेलमा आरसिटीले टुसाल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो। एन्फा कम्प्लेक्स सातदोबाटोमा आरसिटीलाई जीत दिलाउन अजित गुरुङले निर्णायक गोल गरेका थिए।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७३ औं मिनेटमा अजितले निर्णायक गोल गरेका हुन्। उक्त जीतसँगै आरसिटी लिगको पाँचौं स्थानमा उक्लिएको छ । आरसिटीले ८ खेलमा १२ अंक जोडेको छ।

टुसाल ८ खेलमा ८ अंक जोडेर सातौं स्थानमा रहेको छ। लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।