कोरोना कहरसँगै फर्किएका राजेन्द्र कृषिमा  

भावना पौडेल, डडेल्धुरा। कोरोना भाइरसको महामारीले गर्दा आफ्नो मातृभूमि फर्केका युवाहरू अहिले आफ्नै गाउँमै रोजगारीको वातावरण सिर्जना गर्न मात्रै नभई कृषि पेसाबाट गाउँलाई अर्थतन्त्रमा अब्बल बनाउन जागरुक बन्न थालेका छन्। बिभिन्न ठक्कर खाएर बाहिरी मुलुकबाट फर्केपछि कृषिबाटै समृद्धिको सपना देखेर कृषि पेसामा आकर्षित बनेको अहिले धेरै ठाउँमा देख्न सकिन्छ।

यसको पछिल्लो उदाहरण डडेल्धुराको अजयमेरु गाउँपालिका –२ चमडाका रोजेन्द्र ओझा हुन्। कोरोना भाइरस सङ्क्रमणको जोखिम निम्तिएपछि कतारमा एक कम्पनीमा कार्यरत ओझालाई २ महिना काम विहीन बस्नु प¥यो। कोरोना कहरको समयमा आफ्नै देश फर्किन पनि हवाईजहाजको चर्को भाडा दर पुग्दा थप समस्यामा परेका उनी जसोतसो घर फर्किए। उनले विदेश गएर पाएको दुःखलाई सम्झेर अहिले आफ्नै माटोमा सुन फलाउँछु भन्ने ध्येयका साथ तरकारी खेतिमा लागेका छन्।

त्यहाँ रहँदा उनी १२–१३ सय विदेशी रुपैयाँमा काम गर्थे। विदेशमा रहँदा सोचे जस्तो कामकाज नपाएको स्मरण उनी गर्छन्। इन्टर पास गरेका उनी करिब १ वर्ष जति बाह्य मुलुक बसेर स्वदेश फर्किएँ। स्वदेश फर्केर पनि के काम गरेर जीविका चलाउने भन्ने समस्याले अन्योलको अवस्थामा पुगेका उनी अहिले भने कृषि व्यवसायमा रमाइ रहेका छन्। आर्थिक अवस्था कमजोर भएकै कारणले उनी बिदेश पलायन भएको सुनाउँछन्। उनले अहिले आफ्नो बारीमा टमाटर, काक्रा, करेला सिम्ला लगायत लहरे वालीहरू लगाइरहेका छन्।

उनले यहि पेशाबाट अहिले मासिक १५÷२० हजार आम्दानी गरीरहेका छन। ६ जनाको परीवार उनको यहि पेशाले धानेको छ। बाली लगाउन भाद्र असोज देखी सुरु गरेको उनको उनी बताउँछन्। अहिलेसम्म उनले १८÷२० क्विन्टर टमाटर बिक्री गरीसकेका छन्। अब आगामी दिनमा पनि कृषिलाइ नै अंगाल्ने उनी सुनाउँछन्। अहिले विदेशबाट फर्किएकाहरुलाई स्थानीय सरकारले पनि व्यावसायिक रुपमा बाख्रापालन, कुखुरापालन, तरकारी खेती, च्याउ खेती, लगायत उद्यमहरु गर्नतर्फ उत्प्रेरित गरिरहेको पनि आफु जस्ता अन्य युवाहरुलाइ व्यवसायिक बन्न सहज भएको उनको भनाइ छ। प्रदेश सरकारको रोजगार कार्यक्रम सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसबाट प्रभावितलाई रोजगार तथा स्वरोजगार बनाउन कृषि तथा पशुपन्छी विकास कार्यक्रम कार्यान्वयन गरिरहेको छ।

प्रदेशभरि झण्डै नौ हजार परिवारलाई स्वरोजगार बनाउने लक्ष्य लिएको यो कार्यक्रमका लागि प्रदेशमा चालू वर्षमा १५ करोड बजेट विनियोजन गरिएको छ। पहिलो वर्ष छनोट हुने व्यक्तिलाई न्यूनतम् अनुदान उपलब्ध गराएर कार्यक्रम शुरु गर्न लागिएको र पहिलो वर्ष दिइएको अनुदानका आधारमा सम्बन्धितले गरेको कामको मूल्याङ्कन गरी आगामी वर्षदेखि अनुदान सहयोग वृद्धि गर्दै लागिने नीति बनाइएको छ। सो कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालयले ‘कोरोना प्रभावित तथा विदेशबाट फर्किएका युवा लक्षित कार्यक्रम कार्यान्वयन मापदण्ड २०७५’ मापदण्ड बनाएको छ। तर स्वदेश फर्किएका कतिपय सुदूरपश्चिमवासी कामको खोजीमा पुनः भारत पस्न थालेका छन्।