फुटबल क्लब बार्सिलोनाको अफिसमा प्रहरी छापा, ४ पक्राउ

स्पेनिस फुटबल क्लब बार्सिलोनाको कार्यालयमा प्रहरीले छापा मारेको छ। आर्थिक अपचलन र कर छलीको आशंकामा क्लबका चार जना कर्मचारी पक्राउ समेत परेका छन्।

प्रहरीले आफ्नो छानविन जारी रहेको भन्दै पक्राउ गरिएकाहरुको परिचय खुलाएको छैन। तर स्पेनिस मिडियाले क्लबका निवर्तमान अध्यक्ष जोसेप मारिया बार्तोमेउ पनि पक्राउ परेका दावी गरेका छन्।

बार्सिलोनाले गत आइतवार मात्रै क्लबको नयाँ अध्यक्षको निर्वाचन गरेको थियो। सोमवार प्रहरीले कार्यालयमा छापा मारेर धरपकड गरेको बताईएको छ।

गत वर्ष बार्सागेट प्रकरणमा बार्सिलोनाले आफ्नै खेलाडीहरुलाई सामाजिक संजालमा आलोचना गर्न एउटा निजि फर्मलाई करारमा राखेको खुलाशा भएको थियो।

तर क्लबले आधिकारिक रुपमा भने यो खबरको खण्डन गरेको थियो। विवाद बढ्दै गएपछि गत अक्टोबरमा क्लबका अध्यक्ष बार्तोमेउले पदबाट राजिनामा घोषणा गरेका थिए। बार्सिलोना फुटबल क्लबले प्रहरीको जारी छानविनमा पूर्णरुपले सहयोग गर्न बताएको छ।