नवलपरासीमा दुईवटा ट्रक ठोक्किँदा दुईजनाको मृत्यु

नवलपरासी। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गयराति दुईवटा ट्रक एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीका अनुसार दुर्घटनामा परेका दुवै ट्रकका चालकको मृत्यु भएको हो।

उनका अनुसार दुर्घटनामा ना ६ ख ३०११ नम्बरको ट्रक चालक पोखरा महानगरपालिका-१५ बस्ने ५१ वर्षीय खिमबहादुर विक र ना ७ ख ७०२३ नम्बरको ट्रकका चालक हेटौँडा उपमहानगरपालिका बस्ने ३४ वर्षीय राजकुमार न्यौपानेको मृत्यु भएको छ।

दुर्घटनामा परेर ट्रकका सहचालकसमेत घाइते भएका छन्।

ट्रकका सहचालक तनहुँ बन्दीपुर गाउँपालिका-३ बस्ने १८ वर्षीय विश्वास शाही र बबई गाउँपालिका-६ दाङ बस्ने ३३ वर्षीय घनश्याम खड्का घाइते भएका छन्।

अन्य सम्बन्धित समाचार:  चौकीमा तोडफोड, दुई प्रहरी घाइते

घाइते दुवैको अवस्था गम्भीर रहेको र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक गिरीले बताए।