बास्तोला मृत्यु प्रकरणः थप एकजनालाई थुनामा राख्ने आदेश

विराटनगर। मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका एक युवकलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। आज जिल्ला न्यायाधीश सुदर्शन लामिछानेको इजलासले १९ वर्षीय सुदीप परियारलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको जनाइएको छ।

बिहीबार लामिछानेको इजलासले अर्का आरोपी मेहरमान दर्जीलाई पनि थुनामा राख्ने आदेश दिएको थियो। जिल्ला अदालत मोरङका श्रेस्तेदार राजकुमार दाहालका अनुसार थुनछेक बहसपछि थुनामा राख्ने आदेश भएको हो। परियार हत्या आरोपमा मुद्दा दायर गरिएका ६ प्रतिवादीमध्ये एक हुन्। फरार रहेका परियारलाई मोरङको कानेपोखरी गाउँपालिका–७ रमाइलोबाट प्रहरीले सोमबार राति पक्राउ गरेको जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  भक्तपुरमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

बास्तोला प्रकरणमा जोडिएका उर्लाबारी नगरपालिका–६ का ६० वर्षीय रमेश गिरीलाई मोरङ अदालतले एकलाख धरौटीमा छाड्ने आदेश दिएको थियो। यसअघि पक्राउ परेका मोरङको रतुवामाई नगरपालिका–१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जीलाई पुर्पक्षका लागि थुनामा र उर्लाबारी–९ का ३४ वर्षीय कुमार राईलाई बिहीबार तीनलाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो।

मुद्दामा प्रतिवादी बनाइएकामध्ये चारजना पक्राउ परिसकेका छन्। उर्लाबारीका राजेश रणपहेली र झापा बैगुनधुराका ३१ वर्षीय दीपेश पौडेल फरार छन्। फरार भएकाहरुको खोजी तीव्र पारिएको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए।