ज्यानमाथि खतरा छ भन्ने ‘लुते’ प्रधानमन्त्री चाहिँदैन: गगन थापा

गगन थापा

जनकपुरधाम। नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘लुते’ को संज्ञा दिएका छन्। सर्लाहीको धनकौलमा मंगलबार आयोजित सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले आफ्नो ज्यानमाथि खतरा रहेको भनेर बोल्ने ‘लुते’ प्रधानमन्त्री नचाहिने जानकारी दिएका छन्।

उनले भने, ‘जुन देशका प्रधानमन्त्रीले आफ्नो ज्यान जोगाउन सक्दैन, त्यो देशका प्रधानमन्त्रीले जनताको ज्यान कसरी जोगाउँछ यस्तो लुते प्रधानमन्त्री चाहिएन।’ बालुवाटारमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको घेरामा रहने प्रधानमन्त्री यसरी डराउँछन् भने अरुको ज्यान जोगाउन नसक्ने थापाले बताए। ‘वर्तमान प्रधानमन्त्रीसँग अब कुनै अपेक्षा छैन’ थापाले भने, ‘केही दिनभित्र बिदाइ गर्ने अभिभारा पूरा गर्नुपर्छ।’ साथै नेता थापाले प्रधानमन्त्री ओलीले अहिले पनि देशलाई बन्धक बनाउन खोजेको आरोप लगाए।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री गुरुङले अविश्वास प्रस्ताव छल्न प्रदेशसभा अधिवेशन अन्त्य गरे