गोंगबु हत्या प्रकरणः अभियुक्त कल्पना मुडभारीलाई आजीवन जेल सजाय

काठमाडौं। गोंगबुमा भएको कृष्णबहादुर बोहोराकोे विभत्स हत्या प्रकरणमा संलग्न कल्पना मुडभारीलाई आजीवन जेल सजाय सुनाइएको छ। जिल्ला अदालत काठमाडौंले गोंगबुमा डेरा गरी बस्दै आएकी ३७ वर्षीया कल्पना मुडभारीलाई आजीवन काराबासको सजाय सुनाएको अदालतका सूचना अधिकारी नरेन्द्रकुमार शर्माले बताए।

रोल्पा रून्टीगढी गाउँपालिका–७ घर भई गोंगबुस्थित एक होटलमा बस्दै गरेका ४५ वर्षीय बोहोराको हत्या गरी टाउको, खुट्टा काटी कल्पनाले सुटकेशमा राखेर सडक छेउमा फ्याँकेकी थिइन्। कल्पनाले बोहोराको जिँउ सुटकेसमा राखेर नवज्योतिमार्गमा फ्याँक्न लगेकी थिइन्। टाउको र खुट्टा भने केही पर भेटिएको थियो।

फागुन १३ गते न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले उनलाई जिवीत रहुञ्जेल काराबासको सजाय सुनाएका शमाले बताए। ‘उनी जिवीत रहुञ्जेलसम्मको लागि कैदको सजाय सुनाएको छ, ‘उनले भने। त्यस्तै कल्पनाकी छोरीले भने सफाइ पाएकी छन्। नाबालकसमेत रहेकी उनलाई अदालतले सफाइ दिएको हो। गोंगबु बस्ने कृष्णबहादुर बोहराको टाउको र खुट्टा बिनाको शव गत साउन २५ गते सुटकेसमा भेटिएको थियो।

शव भेटिए पनि प्रहरीले केही दिन कृष्णबहादुरको पहिचान खुलाउन सकेको थिएन। त्यसपछि प्रहरीले शवको तस्वीर सार्वजनिक गरेपछि उनको पहिचान खुलेको थियो। सोही अनुसन्धान पछि प्रहरीले कल्पनालाई पक्राउ गरेको थियो।