आगलागी पीडितलाई एकद्वार प्रणालीमार्फत राहत दिइने

लमजुङ। दोभान बजारका आगलागी पीडित परिवारलाई एकद्वार प्रणालीमार्फत राहत उपलब्ध गराउने निर्णय गरिएको छ। मेरिङदेन गाउँपालिका विपद् व्यवस्थापन समितिको बैठकले सबै क्षेत्रबाट उपलब्ध राहत एकद्वार प्रणालीमार्फत उपलब्ध गराउने निर्णय गरेको हो।

मङ्गलबार आगलागी भई क्षति पुगेका घर परिवारलाई आर्थिक सहायता प्रदान गर्ने राजनीतिक दल, सरकारी तथा गैरसरकारी सङ्घसंस्था, दातृ निकाय र व्यक्तिले गाउँपालिका विपद् व्यवस्थापन समितिको कोषमा जम्मा गर्न सकिने गाउँपालिकाले जनाएको छ।

यता जिल्ला विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले समेत एकद्वार प्रणालीमार्फत राहत उपलब्ध गराउने निर्णय गरेको छ। राहत उपलब्ध गराउने व्यक्ति तथा सङ्घसंस्थाले गाउँपालिकामार्फत राहत उपलब्ध गराउनुपर्ने निर्णय गरिएको हो।

यसैबीच जिल्ला विपद् व्यवस्थापन कोषबाट पाँचसम्मको परिवार सङ्ख्या भएकालाई नगद रु १५ हजार र सोभन्दा बढी सङ्ख्या भएका परिवारलाई रु २० हजारका दरले आर्थिक सहायता प्रदान गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष उमेश पाण्डेले जानकारी दिए। उनका अनुसार पूर्ण घर क्षति भएका ३३ र कोठा भाडामा बस्ने २७ परिवारलाई उक्त बराबरको आर्थिक सहायता प्रदान गरिने छ।

अन्य सम्बन्धित समाचार:  हार्डवेयर पसलमा आगलागी