रोमाञ्चक जितसँगै बार्सिलोना फाइनलमा

स्पेनिस कोपा डेल रे अन्तर्गत क्याम्प नोउमा भएको सेमिफाइनलको दोस्रो लेगको खेलमा बार्सिलोना फाइलनमा प्रवेश गरेको छ। सेभियालाई ३–० ले पराजित गर्दै बार्सिलोनाले प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको हो।

फाइनल यात्राको लागि बार्सिलोना र सेभियाबीचको भिडन्त रोचक रह्यो। बार्सिलोना निर्धारित ९० मिनेटको खेल सकिन लाग्दा १–० ले पछि पर्दै प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको थियो।

तर इन्ज्युरी समयको अन्तिम मिनेटमा उसले गोल गरेपछि खेल अतिरिक्त समयमा लम्बियो। इन्ज्युरी समयको चौथो मिनेटमा जेरार्ड पिकेले एन्टोइन ग्रिजमनको क्रसमा हेडर गोल गरेपछि खेल अतिरिक्त समयमा पुगेपछि थप रोचक बन्यो।

यसअघिको खेलमा सेभियाले बार्सिलोनामाथि २–० को जित निकालेकोले यसपटक बार्सिलोनाले पनि सोही अन्तरमा जित निकाल्नुपर्ने बाध्यता थियो। घरेलु मैदानमा दबावबीच खेलिरहेको बार्सिलोनाका लागि खेलको ११ औं मिनेटमा ओस्मान डेम्बेलेले सानदार गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए।

इन्ज्युरी समयको पहिलो मिनेटमा फर्नान्डोले ट्रीनकाओलाई लडाएपछि रेफ्रीले दोस्रो पहेंलो कार्ड दिए। १० खेलाडीमा समेटिएको सेभियाले इन्ज्युरी समयमा प्राप्त कर्नर क्लियर गर्न नसक्दा आएको रिबाउन्डमा ग्रिजमनको क्रसमा पिकेको हेडरमार्फत बार्सिलोना खेलमा फर्किएको थियो।

खेल समग्रमा २-२ को बराबरीमा सकिएपछि १० खेलाडीमा सिमित सेभिया चौथो मिनेटमा नै १ गोलले पनि पछि पर्यो। जोर्डी अल्बाको क्रसमा मार्टिन ब्रेथवेटको हेडर गोलरक्षक भाच्लिकलाई लाग्दै गोलमा परिणत भयो।

जितसँगै बार्सिलोना पछिल्लो ११ संस्करणमध्ये १०औं पटक प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको छ।