जबरजस्ती बन्ध्याकरण गराइएको २५ वर्षपछि क्षतिपूर्तिको लागि लडिरहेका महिला

बन्ध्याकरणको शल्यक्रियाका क्रममा मृत घोषणा गरिएकी सेराफीना यिलिया किउस्पी पेरुको दक्षिणी उच्च क्षेत्रमा रहेको कुस्कोमा अवस्थित मुर्दाघरमा बिउँझिइन्।

सन् १९९७ मा ३४ वर्षको उमेरमा आफूले शल्यक्रियाका लागि अनुमति नदिएको उनी बताउँछिन्।

त्यही वर्ष त्यही अस्पतालमा भिक्टोरिया ह्युआमानलाई बेहोस पार्ने औषधि दिइएको आरोप छ।

कैयौँ घण्टा पछि ब्युँझिदा उनले २९ वर्षको उमेरमा आफूमा बन्ध्याकरण शल्याक्रिया गरिएको थाहा पाइन्।

रुडेसिन्डा कुला २४ वर्षकी हुँदा चिकित्सकहरूले बन्ध्याकरण नगरेसम्म उनका चौथो छोराको जन्मदर्ता गर्न नसकिने बताए।

अस्वीकार गरेपछि जबरजस्ती अस्पतालको शैय्यामा सुताएर, हात र खुट्टा बाँधेर बेहोस पार्ने सुई दिइएको अहिले प्रमाणका रुपमा प्रस्तुत गरिएको उनको व्यक्तिगत विवरणमा उल्लेख गरिएको छ।

कुला ब्युँझिएपछि उनलाई अस्पतालका कर्मचारीले अब पुन: उनले सन्तान जन्माउन नसक्ने बताए।

तत्कालीन राष्ट्रपति अल्बर्टो फुजीमोरीको कार्यकालमा सन् १९९० को दशकमा अघि बढाइएको जनसंख्या नियन्त्रणका कार्यक्रम अन्तर्गत आफूलाई जबरजस्ती बन्ध्याकरणको लागि बाध्य बनाइएको यी महिलाहरू बताउँछन्।

२५ वर्षको न्यायको लडाइँपछि अब पेरुको एउटा अदालतले पहिलो पटक उनीहरूको धारणा सुन्न लाग्दैछ। त्यसक्रममा अदालतले उनीहरूले क्षतिपूर्ति पाउने या नपाउने निर्णय सुनाउनेछ।

यो घटना के हो?

पेरुको स्वास्थ्य मन्त्रालयको आधिकारीक विवरण अनुसार २ लाख ७० हजार भन्दा बढी महिला र २२ हजार पुरुषलाई सन् १९९६ देखि २००१ को बीचमा बन्ध्याकरण गरिएको थियो। त्यसमध्ये अधिकांश आदिवासी केचुवा समुदायका थिए।

गरिबी नियन्त्रण अभियानको अङ्गका रुपमा अघि बढाइएको उक्त कार्यक्रमले गरिब परिवारहरूमा जन्मदर घटाउने लक्ष्य लिएको थियो। उक्त गर्भ नियन्त्रण कार्यक्रम स्वेच्छिक भएको अधिकारीहरूले बताएका थिए।

सरकारले विरामीको सहमतिमा शल्यक्रिया गरिएको जनाएको छ।

तर दुई हजारभन्दा बढी महिलाहरूले उनीहरूलाई जबरजस्ती गरिएको, दुर्व्यवहार गरिएको, धम्की दिइएको र झुट्टा विवरण दिइएको बताएका छन्।

‘पुरुषहरूले किन बलात्कार गर्छन्’ भनेर सोध्ने महिलाहरू

इथियोपिया द्वन्द्वः ‘सैनिकले बलात्कार गर्न खोज्दा मैले एउटा हात गुमाएँ’

पेरुका अभियोजकहरूले उक्त कार्यक्रमका लागि फुजीमोरी र उनको मन्त्रिपरिषद्ले जिम्मेवारी लिनुपर्ने बताएका छन्।

महिला र पुरुष दुवैलाई प्रजनन नियन्त्रणको उपायका रुपमा बन्ध्याकरणको विकल्प दिइएको उनीहरूको भनाइ छ।

तर सन् २००२ मा गरिएको एउटा संसदीय अनुसन्धानले स्वास्थ्यकर्मीहरूलाई बन्ध्याकरणको संख्यात्मक लक्ष्य पुरा गर्न दबाब दिइएको र महिलाहरूको सहमति बेगर नियमित रूपमा शल्यक्रिया गर्ने गरिएको देखाएको थियो।

उक्त प्रतिवेदनमा आदिवासी केचुवा भाषा मात्रै बोल्नसक्ने अधिकांश महिलालाई जथाभावी निशाना बनाइएको उल्लेख छ। अधिकाशले शल्यक्रियापछिको स्याहार प्राप्त नगरेको र कतिपयले त्यसकै कारण ज्यान गुमाएको भनिएको छ।

पीडितको प्रतिनिधित्व गर्ने कैयौँ अभियानकर्मी समूहहरूले सरकारको नीति ‘विभेदकारी र रङ्गभेदी’ भएको आरोप लगाउँदै कम्तिमा ४० जनाले ज्यान गुमाएको उल्लेख गरेका छन्।

उनीहरूले मलाई के गरे मलाई थाहा छैन

जबरजस्ती बन्ध्याकरणबाट प्रभावित पेरुका महिलाहरूको संगठनसँग कुरा गर्दै ह्युआमानले कुस्कोको अस्पतालमा के भयो आफूलाई थाह नभएको बताइन्।

बिरामी भएर स्थानीय क्लिनिकमा गइसकेपछि मात्रै आफू र आफ्ना श्रीमानले आफूहरू दुवैको बन्ध्याकरण गरिएको थाहा पाएको उनले बताइन्।

उनले त्यसपछि आफ्ना श्रीमानले आफूलाई शल्यक्रियाको लागि दोषी ठहर्याउँदै तीन बच्चासहित आफूलाई पनि छाडिदिएको बताइन्।

“म मेरो बच्चाहरूको लागि बुवा र आमा दुवै हुँ। म विरामी परिरहन्छु। मलाई पीडा हुन्छ, शल्यक्रिया भएको ठाउँमा पोल्छ र मेरो टाउको दुखिरहन्छ।”

“म आफूलाई असहाय महसुस गर्छु। म केही गर्न सक्दिनँ र म बिरामी भएको देख्दा मेरा सन्तानले पीडा खेप्छन्।”