सम्झना बोहरा हत्याकाण्डः देवर–भाउजु मिलेर बुहारीको हत्या

गुल्मी। गुल्मीको भाडगाउँमा २१ वर्षीय सम्झना बोहरा खत्रीको केहीदिन अघि आफ्नै सासु र कान्छा ससुरा पर्ने छिमेकीले हत्या गरेको आज प्रहरीले खुलासा गरेको छ। रेसुङ्गा नगरपालिका–३, भाडगाउँस्थित छिमेकमा बस्ने सम्झनाका कान्छा ससुरा अन्दाजी ५० वर्षीय लालबहादुर खत्रीले माघ २९ गते राति सम्झनाको हत्या गरी शव फालिएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रमुख डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले बताए।

सम्झनाकै सासु अर्थात् नातामा आफ्नो भाउजु पर्ने तोमकलीसँग मिलेर आफूले हत्या गरेको लालबहादुर खत्रीले प्रहरीसमक्ष स्वीकार गरेको डिएसपी पाण्डेले जानकारी दिए। केहीदिन अघि जिल्ला प्रशासन कार्यालय अगाडि भएको आन्दोलन र नाराबाजीमा लालबहादुर खत्री नै अग्रपंक्तिमा थिए। बेपत्ता सम्झनालाई छिटो खोज, अपराधीलाई कारबाही गर, फितलो प्रशासन चाँहिदैन जस्ता नारा लगाउँदै उनी अग्रपंक्तिमा देखिन्थे।

सम्झनाकै ससुरा गणेशबहादुर खत्रीले किटानी जाहेरीको मुद्दा दायर गरेपछि प्रहरीले सम्झनाको शव भेटिएकै दिन फागुन १७ गते लालबहादुर खत्रीलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो। निजलाई अदालतमा पेश गरी ७ दिन म्यादसमेत थपिएको डिएसपी पाण्डेको भनाइ छ।उनीहरुले सम्झनाको हत्या किन गरेका हुन् भन्नेबारे डिएसपी पाण्डेले विस्तृत विवरण बताउन चाहेनन्।