स्ववियु निर्वाचन हुनुपर्ने नेविसंघको मागमा माधव नेपालको समर्थन

काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ विद्यार्थी संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)को रिले अनसनमा नेकपा प्रचण्ड–माधव अध्यक्ष माधवकुमार नेपालले एक्केबद्धता जनाएका छन्। नेपालले उपकुलपति कार्यालयबाहिर नेविसंघले गरेको विरोध कार्यक्रममा गई बिहीबार समर्थन जनाएका नेविसंघका पूर्वकोषाध्यक्ष शिव रिमालले बताए।

‘नेविसंघले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन र शैक्षिक क्यालेण्डरलाई नियमित गर्नुपर्ने माग राखेर गरेको रिले अनसनमा मेरो सहमति छ,’ नेपालको भनाई उध्रित गर्दै पूर्वकोषाध्यक्ष रिमालले भने। उनले रिले अनसन स्थलमा रहेको पुस्तिकामा हस्ताक्षरसमेत गरेका छन्।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तत्काल घोषणा गर्नुपर्ने, त्रिविको क्यालेन्डरअनुसार नयाँ भर्ना सुरु गर्नुपर्ने, नेपाल विद्यार्थी संघ र त्रिभुवन विश्वविद्यालयबीच भएको २३ बुँदे सहमति कार्यान्वयन हुनुपर्नेलगायतका माग राखेर नेविसंघको त्रिवि समितिले उपकुलपति कार्यालयबाहिर रिले अनसन गरिरहेको छ।