नेपालको अथतन्त्रको आकार बढेर ३९ खर्ब ४३ अर्ब रुपैयाँ पुग्यो

काठमाडौं। केन्द्रीय तथ्याङ्क विभागले नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी)को आकार १० वर्षमा १४.७ प्रतिशतले बढेको तथ्यांक सार्वजनिक गरेको छ।

विभागले आज सार्वजनिक गरेको तथ्यांक अनुसार अर्थतन्त्रको आकार बढेर आर्थिक वर्ष २०७६÷७७ को अन्त्यसम्ममा नेपालको अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ।

आधार वर्ष परिवर्तन गर्दै अध्ययन गर्दा सन् २०१०÷११ मा उत्पादनमा २०.२७ प्रतिशत, मध्यवर्ति उपभोगमा ३५.४२ प्रतिशत र कुल गार्हस्थ्य उत्पादनमा १४.०७ प्रतिशतको वृद्धि देखिएको हो।  उक्त परिवर्तनले कुल ग्राहस्थ उत्पादन (जीडीपी)को आकार ३९ खर्ब ४३ अब ६६ करोड रुपैयाँ पुगेको छ।

तथ्यांक सार्वजनिक गर्दै विभागका उपमहानिर्देशक डा.हेमराज रेग्मीले औद्योगिक वर्गीकरण अनुसार कुल गार्हस्थ्य उत्पादनमा आएको परिवर्तनलाई हेर्दा कृषि, वन तथा माछापालनमा ०.५ प्रतिशत, खानी तथा उत्खनन्मा २२.५ प्रतिशत, औद्योगिक उत्पादन ४.५ प्रतिशत, विद्युत व्याँसमा ४६.८ प्रतिशत, निर्माणमा ३.७ प्रतिशत, थोक तथा खुद्रा व्यापारमा २३.१ प्रतिशत बृद्धि भएको बताए।

यस्तै मानव स्वास्थ्यमा १.२ प्रतिशत र औधोगिक वर्गीकरणमा भएका परिवर्तनको कारण कला, मनोरन्जन तथा अन्य क्रियाकलापहरुमा ८५.८ प्रतिशतले कमि हुने देखिएको छ।

जीडीपीको आधार वर्ष परिवर्तन गर्दा सेवा क्षेत्रको योगदानको भार ८.४ प्रतिशतले बढेको छ भने कृषि (प्राथमिक) तथा द्वितीय (उत्पादन तथा प्रशोधन) क्षेत्रको भार क्रमशः ९.५ र ३.२ प्रतिशतले घटेको छ।

यस्तै प्रतिब्यक्ति आय पनि गत वर्षको भन्दा २५ अमेरिकि डलरले घटेको छ। गत वर्ष १ हजार १ सय ५९ रहेकोमा अहिले घटेर १ हजार १ सय चौंतिस डलर रहेको तथ्यांकले देखाएको छ।

केरोना महामारीले अर्थतन्त्र खुम्चियो
कोरोना भाइरस (कोभिड –१९) महामारीका कारण अर्थतन्त्र खुम्चिएको छ। कोभिडले आर्थिक गतिविधि ठप्प चालू आर्थिक वर्षको पहिलो चौमासिक(साउन–कार्तिक)मा अर्थतन्त्र ४.६ प्रतिशतले ऋणात्मक भएको छ।

तर पछिल्लो समयमा आर्थिक गतिविधि चलायमान भएसँगै अर्थतन्त्र सकारात्मक गतिमा अघि बढेको विभागले जनाएको छ। गत आवको अन्तिम चार महिनामा सरकारले गरेको बन्दाबन्दीका कारण घरायासी उपभोगमा पनि असर परेको छ।

सरकारले चैत्रदेखि ६ महिनासम्म लकडाउन (बन्दाबन्दी) गरेका कारण अर्थतन्त्र चलायमान हुन नसक्दा अर्थतन्त्रमा संकुचन भएको हो। विभागका अनुसार गत आर्थिक वर्षमा १५.४ प्रतिशतले अर्थतन्त्रमा संकुचन भएको देखिएको छ।