ओली र विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्दै

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लबले आज  एकै मञ्चबाट सम्बोधन गर्ने भएका छन्।

सरकार र विप्लव समूहबीच बिहीबार ३ बुँदे सहमति भएपछि शुक्रबार दिउँसो २ बजे राष्ट्रिय सभागृहमा हुने विशेष समारोहलाई प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रम छ।

३ बुँदे सहमतिको विस्तृत विवरण पनि सार्वजनिक गरिने सरकारी वार्ता टोलीका सदस्य डाक्टर राजन भट्टराईले बताए।
दुई वर्षदेखि भूमिगत रहेका विप्लवलगायत माथिल्लो तहका नेताहरु आजकै कार्यक्रमबाट सार्वजनिक हुनेछन्।

यस्तै, सहमतिअनुसार आजदेखि पक्राउ परेका विप्लव समूहका नेता कार्यकर्ता पनि रिहा हुँदै छन्। सरकार र विप्लव समूहबीच दुई दिनसम्म भएको वार्तापछि सहमति भएको हो।

विभिन्न किसिमका हिंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै चन्द समूहका गतिविधिमाथि सरकारले २०७५ साल फागुनमा प्रतिबन्ध लगाएको थियो। सहमतिअनुसार चन्द समूहमाथि लागेका सबै मुद्दा खारेज हुने भएका छन्।