मेलम्चीको पानी काठमाडौं उपत्यकामा झर्दै

काठमाडौं। दुई दशकभन्दा लामो प्रतीक्षापछि मेलम्चीको पानी शनिबार काठमाडौं उपत्यकामा झर्दैछ। शनिबार दिनको २ देखि ४ बजेभित्र मेलम्चीको पानी सुन्दरीजलमा झर्ने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले बताए।  

‘उपत्यकावासीलाई खुसीको खबर छ। शनिबार मेलम्ची राजधानी आउँदैछ,’ खत्रीले भने। उनका अनुसार मेलम्चीको पानी सुन्दरीजल झर्ने निश्चित भएपछि साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओली अवलोकनमा निस्कने कार्यक्रम तय भएको छ। सुन्दरीजल पुगेर प्रधानमन्त्री ओलीले मेलम्ची पानी झरेको दृश्य हेर्ने उनले जानकारी दिए।

गएको असारमा पहिलो पटक असफल भएपछि गत फागुन १० गते दोस्रो पल्ट मेलम्ची पानी पथान्तरण थालिएको थियो। आयोजनाका अनुसार शनिबार सुन्दरीजल झर्ने पानी सो रातभर वाग्मती नदीमा बगाइनेछ। आयोजनाले वाग्मती आसपासका बासिन्दालाई पानीको सतह बढ्न सक्ने भन्दै यसअघि नै सचेत गराइसकेको छ।  

अन्य सम्बन्धित समाचार:  कालीगण्डकी किनारमा बिहानैदेखि स्नान गर्ने भक्तजनको भीड