कर्मचारी अभावले सेवा प्रवाहमा समस्या

लमजुङ। जिल्लास्थित मालपोत कार्यालयमा दरबन्दी अनुसारको कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ। बेंसीशहर नगरपालिका वडा नं ८ फूलबारी चोकमा रहेको  कार्यालयमा दरबन्दीअनुसारका कर्मचारी अभाव रहेको लामो समय भइसकेको जनाइएको छ।  

कार्यालयमा दरबन्दीअनुसार १९ कर्मचारी हुनुपर्ने भए पनि हाल सात जना मात्रै दरबन्दीअनुसार कर्मचारी रहेको कार्यालयका मालपोत अधिकृत ईश्वरकमल श्रेष्ठले जानकारी दिए। उनका अनुसार दरबन्दीअनुसार प्रमुख मालपोत अधिकृत एक , मालपोत अधिकृत दुई, नायब सुब्बा (नासु) तीन , खरिदार ११ , लेखापाल एक, कम्प्युटर अपरेटर एक हुनुपर्ने थियो। यीमध्ये मालपोत अधिकृत श्रेष्ठ, नासु रेशमबहादुर रिमाल, पूर्णबहादुर गुरुङ, खरिदार रुद्धप्रसाद गुरुङ, सिर्जना घिमिरे, ज्ञानराज कँडेल, लेखापालमा जनकराज पौडेल मात्र रहेका छन्। 

कर्मचारी नभएपछि दुई सहायक  अधिकृत अस्थायीमा राखिएको छ भने पाँच कार्यालय सहयोग करारमा राखेको कार्यालयले जनाएको छ। कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा ढिलासुस्ती, अनलाइन प्रणालीको काम प्रभावित, जग्गा नामसारी गर्नेलगायतका काम गर्न कठिन भइरहेको मालपोत अधिकृत श्रेष्ठको भनाइ छ। सामान्य काम एक दिनमै हुने भए पनि अन्य काम भने धेरै समय लाग्ने गरेको छ। एक दिनमै हुने जग्गानाम सारी दिन चार दिनसम्म काम सम्पन्न हुन लाग्ने गरेको छ। काम ढिलासुस्ती हुँदा सेवाग्राहीको गुनासा नै गुनासा आउने गरेको यहाँका कर्मचारीको भनाइ छ। 

कर्मचारी अभावले काममा ढिलाइ हुँदा बढी सेवाग्राही भीडभाड हुने र कर्मचारीलाई बढी कामको चाप हुने गरेको छ। दिनहुँ दिन काम थपिँदै जाँदा पहिला पुराना काम गर्ने भएकाले पनि सोही दिनको काम सोही दिनमा नहुने गरेको कार्यालयले जनाएको छ। यहाँ विषेश गरी खरिदारको कमीले बढी समस्या उत्पन्न भइरहेको कार्यालयले जनाएको छ। 

कर्मचारी अभाव भए पनि सक्दो काम भने गर्दै आइरहे पनि समस्या भने धेरै भइरहेको उनको भनाइ छ। कार्यालयमा जग्गा नामसारीलगायतका काम दुई÷चार दिन लाग्दा जिल्लाका विगत गाउँगाउँबाट आएका सेवाग्राही होटलमा बस्नुपर्दा र बढी खर्च हुने गर्दा बढी मर्कामा पर्दै आएका छन्। 

कार्यालयबाट सेवाग्राहीले सहज र छिटोछरितोरुपमा सेवा पाउनबाट बञ्चित हुँदै आउँदा निकै दुःख पाएको महसुस हुने गरेको उनीहरुको भनाइ छ। कर्मचारी अभावले सेवा प्रवाहमा समस्या भएको जनाउँदै सम्बन्धित निकायलाई जानकारी गराउँदै आए पनि समस्या जस्ताको त्यस्तै रहेको मालपोत अधिकृत श्रेष्ठले दुखेसो गरे। 

उनले भने, “सम्बन्धित निकायले कर्मचारी उपलब्ध नगराउँदा सेवा प्रवाहमा समस्या भइरहेको छ, सेवाग्राहीको नजरमा कर्मचारीले काम नगर्दाको जस्तो पर्न जाँदा हामीलाई अपजस मात्र हुने गरेको छ। ”

अन्य सम्बन्धित समाचार:  मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु