कम्युनिष्ट फेल भइसकेका छन्ः वरिष्ठ नेता पौडेल

काठमाडौं। नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको पहिलो प्राथमिकता संसदको अवरोध हटाउने भएको बताए।
आज बी.पी. स्मृति सामुदायिक सहकारी अस्पतालको १३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै त्यस्तो बताएका हुन्। संसदीय प्रणालीको संरक्षक आफुहरु भएको र संसदीय प्रणालीमा आउनु अवरोध आफुहरुको असफलता हुने भन्दै बरिष्ठ नेता पौडेलले कांग्रेसले अरु आंकाक्षा नराखि संसदको अवरोधलाई हटाउने कुरामा मात्रै केन्द्रीत हुनुपर्नेमा जोड दिए।

संसदीय व्यवस्थालाई क्षति पुर्याउने काम आफुहरुले गर्नुनहुने उनको भनाई छ। उनले भने – ‘संसदीय प्रणालीको संरक्षक हामी नै हौँ। संसदीय प्रणालीमा कुनै अवरोध आयो भने त्यो असफलता हाम्रो असफलता हो। त्यसकारण त्यो कुरा बुझेर हामीले संसदीय प्रणालीको डेडलकलाई हटाउने मात्रै कुरामा आफुलाई केन्द्रीत गरौँ। हामीले त्यो भन्दा बढ्ता आकांक्षा यो बेलामा राख्नुहुन्न भन्ने मलाई लाग्छ। अहिले हाम्रो सबैभन्दा पहिलो प्राथमिकता डेडलक हटाउनेतिर हो। आजैबाट सोचौँ। डेडलक भोलि नै हटाऔँ। अरु कुराको स्वार्थमा नलागिदिनुस्। किनभने भविष्य हाम्रो हो। भविष्य लोकतन्त्रको हो। भविष्य लोकतान्त्रिक समाजवादको हो। कम्युनिष्ट फेल भइसकेका छन्। संसदीय व्यवस्था विरुद्ध हतियार उठाउनेहरु एक एक गरेर असफल भएका छन्। तर संसदीय व्यवस्थालाई क्षति र्पयाउने काम हामीले नगरौँ।’