तातोपानीमा निःशुल्क स्वास्थ्य शिविर

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत तातोपानी स्वास्थ्य चौकीमा आज निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। गाउँपालिकाको आयोजनामा भएको उक्त शिविरमा मुटुरोग, स्त्रीरोग, हाडजोर्नी, आँखा, छाला, तथा सामान्य गरी कूल ८४६ जनाको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताए।

परीक्षण गरिएका बिरामीमध्ये मुटु रोगका नौ र स्त्री रोगका तीनसहित १५ जनाको तत्काल शल्यक्रिया गर्नुपर्ने देखिएकाले उनीहरूलाई पालिका र त्रिवि शिक्षण अस्पतालले निःशुल्क उपचार गरिने अध्यक्ष पौडेलले बताए। त्रिवि शिक्षण अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईको नेतृत्वमा ७५ स्वास्थ्यकर्मीद्वारा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको तातोपानी स्वास्थ्य चौकीकी प्रमुख अनमी ज्ञानु थापाले जानकारी दिइन।