नेकपाको अधिकारिकता विवादकै बीच प्रतिनिधिसभाको बैठक बस्दै 

काठमाडौं। प्रतिनिधिसभाको आज बैठक बस्दै छ। सर्वोच्च अदालतको आदेशपछि सरकारले आजको लागि संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

सोही आधारमा दिउँसो ४ बजे बैठक बस्दै छ। आजको बैठकले सबैले चासोका साथ हेरेका छन्। सत्तारुढ दल नै दुई गुटमा विभाजन भइरहेको अवस्थामा सरकार र नेकपाकै अर्को गुट कसरी प्रस्तुत हुन्छ भन्ने विषय सबैको चासो बनेको हो।

आजको बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, त्यस्तै राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यतालिका छन्। सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्नेछन्।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७” पेश गर्नेछन्।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता

गृहमन्त्री रामबहादुर थापाले विभिन्न अध्यादेशहरू पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७७, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७, स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले औषधी (तेस्रो संशोधन) अध्यादेश, २०७७ पेश गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, कानून, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले पनि विभिन्न अध्यादेशहरू पेश गर्ने कार्यसूची रहेको छ। फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७७, यौनहिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७, बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधनं अध्यादेश, २०७७ उनले पेश गर्नेछन्।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री गुरुङले अविश्वास प्रस्ताव छल्न प्रदेशसभा अधिवेशन अन्त्य गरे

नेपाल कम्युनिष्ट पार्टी (नेकपांको आधिकारिकताका विषयमा विवाद भई दुुवै पक्षले आ–आफ्ना संसदीय दलका नेता र प्रमुख सचेत घोषणा गरिहेको अवस्थामा हुन लागेको अधिवेशनलाई अरू राजनीतिक दल र आम जनताले निकै चासोका साथ हेरिरहेका छन्।

अहिले प्रतिनिधिसभामा नेकपाका सभामुुखसहित १७३, नेपाली कांग्रेसका ६१, जनता समाजवादी पार्टी (जसपा)का ३२ सांसदको प्रतिनिधित्व छ। नेकपाका सानुु शिवाको निधनपछि एक पद रिक्त छ भने कांग्रेस र जसपाका दुुईदुुई सांसद अदालतको आदेशानुुसार निलम्बनमा छन्।

विधेयक अधिवेशनका रुपमा रहने यो हिँउदे अधिवेशनले प्रतिनिधिसभामा विचाराधीन रहेको ३८ विधेयकलाई अघि बढाउन सक्ने कार्यदेश छ। मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका आधारमा निकै अर्थपूर्ण ढङ्गबाट हेरिएको प्रतिनिधिसभाको आगामी बैठकमा सभामुखसहित २७० सांसद सहभागी हुुन सक्ने देखिन्छ।