विप्लव पक्षसँग हतियार नभएको बास्तोलाको दावी

काठमाडौं। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले आफ्नो पार्टीसँग हतियार नभएको दाबी गरेका छन्।

शनिबार रिपोर्टस क्लब नेपालले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूले सशस्त्र विद्रोह नभएर एकीकृत जनक्रान्ति गरेको बताए।

‘हाम्रो पार्टीले हतियार लिएर लड्ने सशस्त्र युद्ध गरेको होइन’, उउनले भने, ‘हामीसँग हतियार छैन। हामीले गरेको एकीकृत जनक्रान्ति हो। रेभोलुसन भनेको वार होइन, यो निरन्तर प्रक्रिया हो।’

यस्तै उनले देशको समस्या हल गर्नको लागि मुख्य मुख्य विषयमा जनमतसंग्रह गरिनुपर्ने आफ्नो पार्टीको एजेण्डा रहेको पनि बताएका छन्।

तर जनमतसंग्रह के के विषयमा गर्ने भनेर अहिले नै भन्न सम्भव नभएको उनको भनाई छ। यस्तै दुई तिहाइ बुहमत भएको सरकार भएर पनि जनताको अवस्थामा केही सुधार नभएको पनि उनले बताए।