आन्तरिक राजस्वतर्फ कोरोनाको असर : राजस्व संकलन ९ अर्ब ७२ करोडले घट्यो

काठमाडौं। कोभिड–१९ को असर स्वरूप गतवर्षको तुलनामा चालू वर्षको ७ महीनाको अवधिमा आन्तरिक राजस्व विभागमातहतको राजस्व संकलन घटेको छ।

चालू आर्थिक वर्ष (आव)को पहिलो ७ महीनामा आन्तरिक राजस्वतर्फ २ खर्ब २४ अर्ब रुपैयाँ संकलन भएको छ । गत आर्थिक वर्ष यही अवधिमा विभागले २ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। राजस्व संकलन गतवर्षको समीक्षा अवधिको तुलनामा ९ अर्ब ७२ करोडले घटेको छ।

यद्यपि चालू वर्षको साउनदेखि माघ मसान्तसम्मको अवधिमा सरकारले आयकर, मूल्य अभिवृद्धिकरमार्फत ठूलो राजस्व उठाउन सकेको छ।

आन्तरिक राजस्व विभागका अनुसार यस अवधिमा मुख्यतः १ खर्ब १२ अर्ब ४३ करोड रुपैयाँ आयकरबाटै राजस्व संकलन भएको छ भने, ६५ अर्ब १२ करोड रुपैयाँ मूल्य अभिवृद्धि करबाट राजस्व उठेको छ।

अन्य सम्बन्धित समाचार:  फेरी बढ्यो सुनको मूल्य, तोलाको कति?

त्यस्तै, ४३ अर्ब ५८ करोड रुपैयाँ अन्तःशुल्कबाट राजस्व संकलन भएको छ भने शिक्षा सेवा शुल्क तथा अन्यतर्फ २ अर्ब ८८ करोड रुपैयाँ संकलन भएको छ।

कोभिड–१९ का कारण राजस्व संकलनको लक्ष्यमा प्रभाव परेको विभागका अधिकारीहरूको भनाइ छ।