संसद्मा प्रधानमन्त्री ओलीले सबै प्रस्तावको सामना गर्ने, अल्पमतमा परे ह्वीप!

खुमलटार प्रम ओली

धर्मराज भट्ट, काठमाडौं। आइतबारदेखि प्रतिनिधिसभाको बैठक शुरु हुँदैछ। नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बीच आधिकारिकताको विवाद यथावत् रहेको अवस्थामा शुरु भइरहेको बैठकलाइ विशेष महत्वका साथ हेरिएको छ।

बैठकअघि शनिबार बसेको नेकपा ओली पक्षको बैठकमा ११५ सांसद उपस्थित भएको दावी गरिएको छ। दुइदिन अघि बसेको प्रचण्ड नेपाल पक्षको बैठकमा पनि १११ सांसद नै उपस्थित भएको दावी गरिएको थियो।

शनिबार बसेको ओली पक्षको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले  प्रतिनिधि सभाको बैठकमा सशक्त रुपमा उपस्थिति जनाउन सांसदहरूलाई निर्देशन दिए।

सरकारको बचाउ गर्दै संसद्मा अनिर्वाय उपस्थित हुन भनियो। बैठकमा संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूको पक्षमा लाग्ने संख्या विस्तारै बढ्दै जाने भन्दै सांसदहरूलाई नआत्तिन समेत आग्रह गरे।

उनले यस्तो अवस्थामा प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने हिम्मत नरहेको पनि बताएका थिए। त्यही कुरामा विश्वस्त प्रधानमन्त्री ओलीले संसद्मा आफैले विश्वासको मत नमाग्ने तर संसद्मा विधि र पद्धतिअनुसार आउने प्रस्तावको सामना गर्ने रणनीति लिएको बताएका छन्।

आफूसँग बहुमत सांसद भएकाले ओली आफूमाथि कुनैपनि अविश्वास प्रस्ताव नआउनेमा ढुक्क देखिन्छन्। तर सांसद आफ्नो पक्षमा पार्ने प्रयासहरू नेकपाका दुबै पक्षबाट भइरहदा बहुमत छ भन्दैमा ढुक्क रहने स्थिति छैन। सांसदहरू रातारात एक पक्षबाट अर्को पक्षमा जाने क्रम पनि जारी छ। 

यही बिचमा यदि आफ्नो पक्षमा सांसद कम भएछन् भने पार्टीभित्र ह्वीप जारी गर्ने मनसायमा प्रधानमन्त्री छन्।

नेकपा ओली पक्षका नेता तथा प्रतिनिधिसभा सांसद शेर बहादुर तामाङले यदि संसदमा त्यो स्थिति आए ह्वीप जारी हुने र पार्टीको ह्वीप नमान्नेहरूलाई नियमानुसार कारवाही हुने बताए।

नेपाली पत्रीकासंग संक्षिप्‍त कुराकानी गर्दै उनले भने, प्रधानमन्त्रीले विश्वासमको मत पनि संसदमा लिनुहुन्न र जस्तोसुकै अवस्था र प्रस्ताव आएपनि सामना गर्नहुन्छ तर यदि केहि गरि प्रधानमन्त्रीलाई समस्या भए पार्टीभित्र ह्वीप जारी हुन्छ। ह्वीप नमाने त त्यसका लागि कानून नियम छँदै छ नियम अनुसार कारवाही हुन्छ।’ 

यता प्रचण्ड–नेपाल पक्षले भने केपी शर्मा ओलीले ह्वीप जारी गरे पनि नमान्ने यसअघि नै बताइसकेको छ।

पार्टी विवाद निर्वाचन आयोगमा विचाराधीन भएका बेला र दुबै पक्षबाट आ–आफ्नै संसदीय दलहरू गठन भइरहँदा अब आजको संसद्मा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कसरी पस्तुत होलान् भन्ने कुरा चाँसोको बिषय बनेको छ। यतिमात्रै नभइ संसद्मा प्रतिपक्षि दलहरुको प्रूस्तुतिकरणलाई पनि विशेष महत्वका साथ हेरिएको छ।