मोतिपुर औद्योगिक क्षेत्र विवादमा स्थानीयलाई प्रतिकारमा उतार्दै सरकार

बुटवल। बुटवल स्थित मोतिपुर औद्योगिक क्षेत्र निर्माणका लागि शिलान्यास गर्दा अर्थमन्त्री विष्णु पौडेल र उद्योग तथा पर्यटनमन्त्री लेखराज भट्ट माथी अवरोध खडा भएपछि अब विवादले अर्को रुप लिने भएको छ।

अब सरकारी पक्षले स्थानीय जनताबाटै विवादको प्रतिकार गर्ने सहमति गरेको छ। शनिबार साँझ औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले बुटवलको रानीगञ्ज क्षेत्रका बासिन्दाका डेढ दर्जन प्रतिनिधिको हस्ताक्षरमा गरेको सहमति पत्रको सातौँ बुँदामा औद्योगिक क्षेत्रको ‘बी’ ब्लकमा हुने निर्माणमा अवरोध भए सशक्त प्रतिरोध गर्नेसहमतीमा उल्लेख गरिएको छ।

यसले औद्योगिक क्षेत्र निर्माणका सम्बन्धमा दुई पक्षमा विभाजित स्थानीय बासिन्दाबीचको द्वन्द्व झनै चर्किने देखिएको छ।

स्थानीयको तर्फबाट नमुना टोल विकास संस्थाका अध्यक्ष धर्मवीर बुढाथोकी र औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका तर्फबाट अध्यक्ष बस्नेतले हस्ताक्षर गरेको सम्झौता पत्रमा औद्योगिक करिडोर निर्माणलाई स्वागत गर्दै जग्गाको नापजाँच र यकिन तथ्यांक तयार गरी निर्माण कार्य अगाडि बढाउने उल्लेख छ।

सहमति पत्रमा औद्योगिक क्षेत्र निर्माणको काम अघि बढाउन आफूहरु तयार रहेको र कुनै अवरोध नगर्ने उल्लेख छ ।

सहमतिपत्रमा बुटवल उपमहानगरपालिकाअन्तर्गत साविकको मोतिपुर गाविसको सेक्टर ‘बी’ अन्तर्गतको कित्ता नं. ४७ र ४८ लाई अलग राखी डीपीआर गरिएको र त्यसको यथोचित व्यवस्थापन गरी काम अगाडि बढाउने उल्लेख गरिएको छ ।