काठमाडौँ मेयर कप: काठमाडौँ मेयर्स ११ र एपिएफ विजयी

काठमाडौं। काठमाडौँ मेयर कपमा काठमाडौँ मेयर्स ११ र सशस्त्र प्रहरी बलको एपिएफ क्लब आ-आफ्नो खेलमा विजयी भएका छन्। काठमाडौँ मेयर्सले बागमती प्रदेशलाई ९४ रनले तथा एपिएफ क्लबले नेपाल पुलिस क्लबलाई एक विकेटले पराजित गरेको हो।

मूलपानी खेल मैदानमा भएको खेलमा कप्तान सन्दीप लामिछानेले उत्कृष्ट खेल प्रदर्शन गरेपछि काठमाडौँ मेयर्सले बागमती प्रदेशलाई फराकिलो रन अन्तरले पराजित गरेको हो । पहिला ब्याटिङ गरेको काठमाडौँ  मेयर्सले ५० ओभरमा नौ विकेटको क्षतिमा २४४ रन बनायो। उसका  लागि कप्तान लामिछानेले २० बलमा ६ छक्कासहित ४२ रन बनाए।

यस्तै सन्दीप रजालीले ३३, सिद्धान्त लोहनीले ३४, सौरभ खनालले अविजित ४९ तथा विपिन खत्रीले ३२ रन बनाए। बलिङतर्फ बागमतीका नन्दन यादवले चार तथा रामनरेश गिरी र आरियो पौडेलले दुई/दुई विकेट लिए। २४५ रनको लक्ष्य पछ्याएको बागमतीले ३४ दशमलव तीन ओभरमा सवै विकेटको क्षतिमा १५० रन मात्र बनाउन सक्यो।

अन्य सम्बन्धित समाचार:  त्रिकोणात्मक सिरिज: नेपाल नेदरल्याण्ड्ससँग भिड्दै

बागमतीका लागि पृथु बास्कोटाले ६०, कप्तान ज्ञानेन्द्र मल्लले १७, आदिल खानले १५, पारस खड्काले १० तथा इशान पाण्डेले १७ रन बनाए। बलिङतर्फ काठमाडौँ मेयर्सका सन्दीप लामिछानेले तीन तथा बिपिन खत्री र अनिल खरेलले दुई/दुई विकेट लिए। लामिछाने ‘प्लेयर अफ दी म्याच’ घोषित भए।

यसैगरी त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न अर्को खेलमा एपिएफले पुलिसमाथि रोमाञ्चक जीत हासिल गर्‍यो। पुलिस क्लबले ५० ओभरमा सात विकेटको क्षतिमा २५८ रन बनायो। पुलिसले दिएको २५९ रनको लक्ष्य एपिएफले एक बल बाँकी छँदै नौ विकेट गुमाएर पुरा गर्‍यो।

एपिएफका सन्दीप जोराले ६१, सुवास खकुरेलले ५०, आसिफ शेखले ४२, सुमित महर्जनले ३३ र कप्तान शरद भेषवाकरले २० रन बनाए। बलिङतर्फ पुलिसका पवन सर्राफले पाँच, योगेन्द्रसिंह कार्कीले दुई तथा दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले एक/एक विकेट लिए।

अन्य सम्बन्धित समाचार:  त्रिकोणात्मक सिरिजमा नेदरल्याण्ड्सविरुद्ध नेपाल टस जितेर बलिङ गर्दै

यसअघि पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरे । उनले १३१ बलमा ११ चौका र ६ छक्काको मद्दतमा १४० रन बनाए।

यस्तै पवन सर्राफले ३५, सुनिल धमलाले ३३, अनिल शाहले १८ तथा कुशल भुर्तेलले १० रन बनाए। एपिएफका लागि शरद भेषवाकरले तीन विकेट लिए । पुलिसका दीपेन्द्रसिंह ऐरी ‘प्लेयर अफ दी म्याच’ घोषित भए।