इंग्लिस प्रिमियर लिग: टोटेनहमको सानदार जित

काठमाडौं। टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसलाई ४–१ को गोल अन्तरले पराजित गरेको छ।

घरेलु मैदान टोटेनहम हटस्पर स्टेडियममा टोटेनहमको जितमा बेल र केनले समान २–२ गोल गरे। केनले दुई असिस्ट पनि दिए। प्यालेसका क्रिस्टियन बेन्टेकेले एक गोल फर्काए।

खेलको २५औं केनको पासमा ग्यारेथ बेलले गोल गर्दै टोटेनहमलाई १–० को अग्रता दिलाए। उनले ह्यारी केनको पासमा गोल गरेका थिए। पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा बेन्टेकेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।

४९औं मिनेटमा बेलले केनकै पासमा व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमलाई २–१ को अग्रता दिलाए। ५२औं मिनेटमा केनले गोल गर्दै टोटेनहमलाई ३–१ ले अघि बढाए। उनले माट दोहर्थीको पासमा गोल गरेका थिए।

७६औं मिनेटमा केनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै टोटेनहमलाई ४–१ को सहज जित दिलाए। केनले यसपटक दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनको पासमा गोल गरेका थिए।

जितसँगै टोटेनहम २७ खेलबाट ४५ अंक जोडेर छैटौ स्थानमा उक्लिएको छ। पराजित क्रिस्टल प्यालेस २८ खेलबाट ३४ अंक जोडेर १३औं स्थानमा रहेको छ।