महिलाले ५० प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलन गर्नुपर्छः पम्फा भुसाल

काठमाडौं। नेकपा प्रचण्ड–माधव पक्षकी नेतृ पम्फा भुसालले महिलाहरुले ५० प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलन गर्नुपर्ने बताइन।
आज १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा अनेरास्ववियूले आयोजना गरेको टेम्पो चालक महिला सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ भुसालले ५० प्रतिशत भन्दा बढी संख्यामा रहेका महिलाहरुले सबै क्षेत्रमा ५० प्रतिशत भन्दा बढी अधिकार प्राप्तिका लागि आन्दोलन गर्नुपर्ने बताइन्। संविधानत्ः महिलाहरुले धेरै अधिकार पाएको भएपनि कार्यान्वयनमा चुनौती रहेको भन्दै उनले त्यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिइन्।

संविधानले व्यवस्था गरेका सबै अधिकार सबै ठाउँमा लागू हुन नसकेको भन्दै उनले कार्यान्वयन तहमा चुनौती रहेको बताइन्। नेतृ भुसालले राजनीतिक अधिकारले मात्रै नपुग्ने भन्दै अधिकार कार्यान्वयनको आधार आर्थिक समानता भएकोले महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिइन्। महिलालाई पैतृक सम्पत्तिमाथिको अधिकार सुनिश्चित गर्नुपर्ने, घरेलु कामलाई आर्थिक उत्पादनको काममा गणना गरिनुपर्ने तथा बेरोजगार महिलाहरुलाई भत्ता दिई संविधानले प्रदान गरेको अधिकारलाई सरकारले कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो।