यमनको एक आप्रवासी शिविरमा आगलागी हुँदा आठ जनाको मृत्यु

काठमाडौं। यमनको राजधानी सहरस्थित एक आप्रवासी शिविरमा भएको आगलागीमा परी आइतबार कम्तीमा पनि आठ आप्रवासीको ज्यान गएको बताइएको छ। त्यस शिविरमा भएको आगलागीमा उक्त शिविरका सुरक्षा गार्डहरू पनि परेको बताइएको छ। यस क्रममा अरु केही संख्यामा घाइते भएका पनि अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनले जनाएको छ। 

यस आगलागीमा परी आठ व्यक्तिको मृत्यु भएको पुष्टि गरियो र मृत्यु हुनेहरूको संख्या अझ धेरै रहेको हुनसक्ने बताइएको छ। त्यस आगलागीमा परी कम्तीमा पनि १७० जना घाइते भएका छन्। तीमध्ये केही जना गम्भीर रुपमा घाइते भएका छन्। सो आगलागी के कसरी भएको हो भन्ने बारेमा भने केही थाहा भएको छैन। यमनमा गएका केही वर्षदेखि हिंसा जारी रहेको छ। यस हिंसामा परी दशौँ हजार नागरिकको ज्यान गएको छ। यस हिंसाका कारण यमन विश्वमा नै सबैभन्दा धेरै मानवीय सहायता आवश्यक पर्ने देशका रुपमा रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।