काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमण विरुद्धको कानुन रोक्न दलका नेताहरुले संसदमा सेटिङ गरेको गम्भीर आरोप लगाए। अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एसिड आक्रमणविरुद्धको कानुन रोक्न प्रचण्ड–माधव समूह, नेपाली कांग्रेस र जसपाले अवरोध गरेको आरोप लगाएका छन्।
एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई समारोहमा सम्मान गरिसकेपछि बोलेका ओलीले एसिड आक्रमणविरुद्धको अध्यादेश फेल गर्ने हिम्मत नभएकाले पेश गर्नै नदिएर अवरोध गरेको जानकारी दिए। ‘यतिबेला देश चुनावमा जान्थ्यो। राम्रो सरकार बन्थ्यो। मुद्दा हालेर त्यसलाई रोके। अनि संसद पुनस्र्थापना किन गरेको रहेछ भन्दा उफ्रिन, नारा लगाउन, कराउन, अध्यादेश पेश गर्न नदिन, एसिड आक्रमणका विरुद्धको कानुन पास गर्न नदिनका लागि पो बोलाएको रहेछ,’ ओलीले भने।