अध्यादेश फेल गर्ने हिम्मत छ कसैको?: प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको अध्यादेश फेल गरेर देखाउन चुनौती दिएका छन्। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सोमवार काठमाडौंमा गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले  हिम्मत भए अध्यादेश फेल गरेर देखाउन चुनौती दिए।

उनले एसिड आक्रमणविरुद्धको अध्यादेश पास हुन नदिन संसद् अवरुद्ध गरिएको दाबी गरे। प्रधानमन्त्री ओलीले संसद्मा सांसदहरूले संसदीय मूल्य, मान्यता र मर्यादा विपरीत क्रियाकलाप गरेको आरोप लगाए।

मुद्दा लडेर संसद् पुनर्स्थापना गराएर संसद्मा धामी नाच देखाएको आरोप प्रधानमन्त्रीको छ। पुनर्स्थापित संसद्लाई देश र नागरिकका समस्याका बारेमा छलफल गर्ने थलो बनाउनुपर्नेमा त्यसो हुन नसकेको र एसिड आक्रमणविरुद्धको कानुन पास हुन नदिन बैठक अवरुद्ध गरिएको आरोप प्रधानमन्त्रीले लगाए।

आफूले सबै मुद्दाहरूमा पराजय भोगिरहेको र सर्वोच्चको फैसला मानिरहेको बताउँदै उनले प्रचण्ड नेपाल पक्षले अदालतको फैसलामा दुईथरी चरित्र देखाएकाे बताए। आफ्नो पक्षमा फैसला आएमा मान्ने र आफ्नो  पक्षमा फैसला नआए नमान्ने गरेको उनको आरोप छ।