प्रिमियर लिग फुटबल: चेल्सी र वेस्ट ह्यामको जीत

काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा चेल्सी र वेस्ट ह्याम युनाइटेड विजयी भएका छन्। चेल्सीले एभर्टन तथा वेस्ट ह्यामले लिड्स युनाइटेडलाई हराएका हुन्।

घरेलु मैदानमा भएको खेलमा चेल्सीले एभर्टनलाई २-० ले हराएको हो। चेल्सीको जीतमा जोर्गिन्होले एक गोल गरे भने एक गोल एभर्टनको तर्फबाट आत्मघाती भएको थियो।

खेलको ३१औं मिनेटमा बेन गोड्फ्रेबाट भएको आत्मघाती गोलमार्फत चेल्सीले अग्रता लिएको थियो। ६५औं मिनेटमा जोर्गिन्होले पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । त्यसपछि थप गोल भएनन् र चेल्सी २-० ले विजयी भयो।

जीतसँगै २८ खेलबाट ५० अंक जोडेको चेल्सी अंकतालिकाको चौथो स्थानमा रहेको छ भने पराजित एभर्टन २७ खेलबाट ४६ अंकसहित छैटौं स्थानमा रहेको छ।

अन्य सम्बन्धित समाचार:  आइपिएल– बेंगलोर र हैदराबाद भिड्दै

यस्तै अर्को खेलमा वेस्ट ह्यामले लिड्स युनाइटेडलाई २-० ले नै हराएको हो। वेस्ट ह्यामको जीतमा जेसे लिङ्गार्ड र क्रेग डवसनले १-१ गोल गरेका थिए।

त्यसैगरी वेस्ट ह्यामले पाएको एक पेनाल्टीमा लिङ्गार्ड चुकेका पनि थिए। उनको प्रहार विपक्षी गोलरक्षक मेस्लियरले बचाएका थिए। यद्यपि वेस्ट ह्याम २-० ले विजयी रहँदै ३ अंक भने बटुल्न सफल भयो।

जीतसँगै २७ खेलबाट ४७ अंक जोडेको वेस्ट ह्याम अंकतालिकाको पाँचौं स्थानमा रहेको छ भने पराजित लिड्स ३५ अंकसहित ११औं स्थानमा रहेको छ।