मेयर कप क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं। काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा मंगलबार(आज) दुई खेलहरु हुँदैछन्। टियु क्रिकेट मैदानमा हुने खेलमा एपीएफ क्लबले बागमती प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ।​

बागमतीविरुद्ध मैदान उत्रिँदा एपीएफ लगातार तेस्रो जितको खोजीमा हुनेछ। एपीएफ २ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। बागमती प्रदेश भने पहिलो जितको खोजीमा रहेको छ।

बागमतीले अघिल्ला दुई खेलमा हार व्यहोरेको थियो। पहिलो खेलमा पुलिससँग २ रनले पराजित बागमती दोस्रो खेलमा काठमाडौं मेयर–११ सँग ९४ रनले पराजित भएको थियो।​

मुलपानी क्रिकेट मैदानमा हुने अर्को खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ। आर्मी र पुलिस दोस्रो जितको खोजीमा रहेका छन्। पहिलो खेलमा एपीएफसँग पराजित आर्मीले दोस्रो खेलमा काठमाडौं मेयर–११ लाई हराएको थियो।

अन्य सम्बन्धित समाचार:  नेपाली क्रिकेट टोलीको घोषणा

पुलिसले भने पहिलो खेलमा बागमतीलाई हराएको थियो। दोस्रो खेलमा पुलिस एपीएफसँग पराजित भएको थियो।