त्रिशुली नदीमा खस्यो ट्रक, २ जनाको मृत्यु

धादिङ। धादिङको बेनिघाट रोराङ गाउँपालिकाको तिङग्राङखानीबाट काठमाडौं आउँदै गरेको ट्रक त्रिशुली नदीमा खस्दा २ जनाको मृत्यु भएको छ। आज बिहान गाउँपालिका वडा नम्बर १० तिङग्राङखानीस्थित पृथ्वी लोकमार्ग सडकमा रूपन्देहीबाट गोयन्का सिमेन्ट बोकेर काठमाडौं आउँदै गरेको लु१ख ७७६२ नम्बरको ट्रक त्रिशुली नदीमा खसेको इलाका पहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेयले बताए।

 उनका अनुसार, ट्रक करिब ३० मिटर तल नदी किनारमा खसेको हो। दुर्घटनामा ट्रक चालक काभ्रेपलाञ्चोक बनेपा नगरपालिकाको नाला घर भएका ४५ वर्षीय विष्णु घिमिरे र सोही ठाउँमा घर भएको ट्रकको सहचालक २८ वर्षीय सुमन सञ्जेलको ट्रककै क्याबिनमा थिचिएर मृत्यु भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  कारमा मृत भेटिएका बालकका अभिभावकले अझै बुझेनन् शव