काठमाडौं मेयर कप: विभागीय डर्बीमा पुलिसको जित

काठमाडौं। काठमाडौं मेयर कप अन्तर्गत आज भएको विभागीय डर्बीमा नेपाल पुलिस क्लब विजयी भएको छ। पुलिष क्लबले त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले पराजित गरेको हो। आर्मीले दिएको ८८ रनको लक्ष्य पुलिसले १८.३ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो।

पुलिसका लागि सुनिल धमलाले सर्वाधिक ३९ रनको योगदान दिए। १७.४ ओभरमा साहब आलमले बोल्ड गराउनुअघि उनले ४८ बलमा ३ चौका र २ छक्का प्रहार गरेका थिए। पवन सरार्फले अविजित २२ र दिलीप नाथले १५ रनको योगदान दिए। अन्य ब्याट्सम्यानले दोहारो अंकमा रन जोड्न सकेनन्।

आर्मीका लागि सातै विकेट साहब आलमले लिए। मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको आर्मीले ३०.१ ओभरमा सबै विकेट गुमाउँदै ८७ रनको योगफल तयार पारेको थियो।

अन्य सम्बन्धित समाचार:  च्याम्पियन्स लिग: उपाधिका लागि चेल्सी र म्यानचेस्टर सिटी भिड्ने

उसका लागि कुनै पनि ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। लोकेश बमले सर्वाधिक ३२ रनको योगदान दिए। ३०.१ ओभरमा ललित राजवंशीले एलबिडब्ल्युको सिकार बनाउनुअघि उनले २४ बलमा २ चौका र ३ छक्का प्रहार गरे।

विक्रम सोबले १४ र रोहित पौडेलले १३ रनको योगदान दिँदा अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।आर्मीलाई सस्तैमा समेट्न पुलिसका सागर ढकालले ५, पवन सरार्फले ३ र ललित राजवंशीले २ विकेट लिए। पहिलो खेलमा बागमती प्रदेशलाई २ रनले हराएको पुलिस दोस्रो खेलमा नेपाल एपिएफ क्लबसँग १ विकेटले पराजित भएको थियो। पहिलो खेलमा एपिएफसँग १ विकेटको पराजय बेहोरेको आर्मीले दोस्रो खेलमा काठमाडौं मेयर ११ लाई ५ विकेटले हराएको थियो।