दोभान बजार पुनः स्थापित गर्न मापदण्ड तयार

फुङ्लिङ। मेरिङ्देन गाउँपालिकाले मेरिङ्देन—३ दोभान बजारका आगलागी विस्थापितलाई पुनः स्थापित गर्न नयाँ मापदण्ड तयार गरेको छ।

घर निर्माणमा इँटा तथा ढुङ्गा प्रयोग गरी पिलर बनाउनुपर्ने र प्राविधिकका ढाँचा अनुसार घर बनाउनुपर्ने लगायतका मापदण्डमा छन्। घरको नक्सा पास शुल्क भने गाउँपालिकाले मिनाहा गरिदिएको छ। पेट्रोलियम पदार्थको बिक्री वितरण आयल निगमले तोकेको मापदण्ड अनुसार मात्र गराइने जनाइएको छ।

बजारभित्रको सडकको क्षेत्राधिकार न्यूनतम ६ मिटर तोकिने भएको छ भने सडक र मुख्य सडक जोड्ने नयाँ दुईवटा सडकको क्षेत्राधिकार कम्तीमा ३.५ मिटर मापदण्डमा तोकिएको छ। मुख्य सडकको क्षेत्राधिकार तमोर करिडोर आयोजना तथा सडक डिभिजनसँग समन्वय गरी कार्यान्वयन गर्ने निर्णय भएको मेरिङ्देनका प्रमुख प्रशासकीय अधिकृत आङ्देम्बेले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  बिहीबारबाट भक्तपुरका सबै कार्यालय बन्द

नेपाल टेलिकमको टावर तथा क्षतिग्रस्त झोलुङ्गे पुल पुनःनिर्माणका लागि सम्बन्धित निकायमा गाउँपालिकाले अनुरोध गरेको छ। गाउँपालिकाले व्यवसायीको मौज्दात मिलान, कर दाखिला र कर समायोजनका लागि सम्बन्धित कर कार्यालयमा अनुरोध गर्ने निर्णयसमेत लिएको उनले बताए।

मेरिङ्देन –३ स्थित खाम्लुङको दोभान बजारमा यही १८ गते भएको आगलागीमा परी ५० घर नष्ट र ६३ परिवार विस्थापित भएका थिए। आगलागीबाट करीब रु ४० करोड बराबरको क्षति भएको जनाइएको छ।