स्वास्थ्य संस्थामा सुत्केरी गराउने ११ हजार

भरतपुर। चितवनमा चालू आर्थिक वर्षमा १० हजार ५४८ जना सुत्केरी भएका छन्। जसमा स्वास्थ्य संस्थामा सुत्केरी गराउने १० हजार ३११ जना छन्। जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार यो अवधिमा ३५.७ प्रतिशत महिलाले शल्यक्रियामार्फत् बच्चा जन्माएका छन्।

सुत्केरी हुनेमध्ये तीन हजार ७६२ महिलाले शल्यक्रियामार्फत् बच्चा जन्माएको जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत गीताञ्जली ढकालले बताइन्। दुई प्रतिशत अर्थात् २१८ महिलाले ‘भ्याकुम फोर्स’का सहायताबाट बच्चा जन्माएको जनाइएको छ। ६२.३ प्रतिशत अर्थात छ हजार ५६८ महिलाले समान्यरुपमा बच्चा जन्माएको कार्यालयको तथ्याङक छ।

चालू आवमा मातृ मृत्युदर एक लाखमा ३.२ रहेको छ भने जन्मेको २८ दिनभित्रमा २१ जना शिशुको ज्यान गएको छ। गत आव २०७६÷७७ मा ३४.३ प्रतिशत अर्थात छ हजार ४४९ महिलाले शल्यक्रियामार्फत् बच्चा जन्माएका थिए। गत आवमा जिल्लाभरमा १८ हजार ७८५ महिला सुत्केरी भएका थिए। जसमा स्वास्थ्य संस्थाबाट १८ हजार ४९३ जनाले सुत्केरी गराएका थिए।

अन्य सम्बन्धित समाचार:  देशभरको मौसम पूर्णरुपमा खुल्न केही दिन लाग्ने