च्याम्पियन्स लिगबाट बाहिरियो युभेन्ट्स

 इटालियन फुटबल क्लब युभेन्ट्सको यस सिजनको यूईएफए च्याम्पियन्स लिगको यात्रा समाप्त भएको छ।

मंगलबार भएको दोस्रो लेगमा घरेलु मैदानमा पोर्चुगीज क्लब एफसी पोर्टोलाई पराजित गरेपनि समग्रमा अवे गोलको आधारमा युभेन्टसले क्वाटरफाइनल यात्रा तय गर्न सकेन।

अतिरिक्त समयमा लम्बिएको खेल ३-२ मा सकिएको थियो । त्यसअघि पहिलो लेग पोर्टोले २-१ ले जितेको थियो‌। समग्रमा ४-४ को बराबरी भएपनि पोर्टोले युभेन्टसको मैदानमा २ अवे गोल गरेपछि युभेन्ट्सको यात्रा राउन्ड अफ १६ मै रह्यो।

खेलको १९ औं मिनेटमा सर्जियो अलिभिएराले पेनाल्टीमा गोल गर्दै पोर्टोलाई अग्रता दिलाए‌। दोस्रो हाफको चौथो मिनेटमा रोनाल्डोको पासमा फेडेरिको किएजाले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसको तीन मिनेटपछि  मेहेदि टेरेमीले २ पहेंलो कार्ड पाएपछि पोर्टो १० खेलाडीमा समेटिएको थियो।

अन्य सम्बन्धित समाचार:  प्रिमियर लिगमा बर्नलीले फुलह्यामलाई हरायो

६३ औं मिनेटमा किएजाले व्यक्तिगत दोस्रो गोल गर्दै समग्रमा खेल बराबरीमा ल्याए। निर्धारित ९० मिनेटमा गोल थप्न नसक्दा खेल अतिरिक्त समयमा लम्बियो।

अतिरिक्त समयमको १ सय १५ औं मिनेटमा पोर्टोका सर्जियो अलिभिएराले दोस्रो गोल गरे।

त्यसको २ मिनेटपछि नै अर्थात ११७ औं मिनेटमा युभेन्टसले गोल फर्कायो। एड्रिएन राबिअटले हेडरमा गोल फर्काए। उनले गोल गरेपनि युभेन्ट्सलाई पार लगाउन सकेनन्।